काठमाडौँ, १४ असोज । काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका-४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।







