काठमाडौँ, २५ पुस । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उनलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए ।
हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य छन् ।
गत मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ५१ वर्षीय जमकट्टेल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए ।







