काठमाडौँ, १३ जेठ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरू भइरहेको बताएका छन् ।
वागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गाैला प्रत्यारोपण सुरू गर्नेगरी सरकारले काम गरिरहेको बताए । यसका लागि धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको पनि उनले उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रूपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे । त्यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उनले बताए ।
यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको भन्दै मुख्यमन्त्री पाण्डेले सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताए ।
सरकारले भैँसे–भीमफेदी सडक विस्तारका सन्दर्भमा देखिएको समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारणसम्बन्धी कार्यविधि पारित गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरूले चाँडै क्षतिपूर्ति पाउने बताए । यस्तै, उनले प्रदेशमा किताबखाना स्थापना गरिएको बताए ।
त्यस्तै, पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै देशभर उच्च मूल्यवृद्धि भएकामा चिन्ता व्यक्त गरिन् । त्यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहोलबाट डराएर एमालेले जो भेट्यो त्यहीसँग चुनावी तालमेल गरेको आरोप लगाए ।
बैठकमा विवेकशील साझाका संसदीय दलका नेता रमेश पौड्याल र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र गोसाईं, राप्रपाकी रीना गुरुङलगायतले प्रदेश सरकारले जनताको भावनाअनुरूप काम गर्न नसकेको आरोप लगाए । उनीहरूले शीर्ष दलहरूबाटै जनभावनालाई उपेक्षा गर्ने कार्य भइरहेको भन्दै सच्चिएर अघि बढ्न सुझावसमेत दिए ।
वागमती प्रदेशसभामा पाँच अध्यादेश पेश बागमती प्रदेशसभामा आज पाँच अध्यादेश पेश भएको छ । आजदेखि सुरू भएको प्रदेशसभाको दशौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट पाँच अध्यादेश पेश भएको हो । सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो ।
प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका हुन् । यस्तै, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरे ।
प्रदेश निजामती सेवा अध्यादेश, २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७८ संसद्मा पेश गरिएको छ । आजै, बसेको दोस्रो बैठकमा वागमतीका अर्थमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रि–बजेटसमेत पेश गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले अर्काे बैठक जेठ १४ गते बिहान ११ गते बस्ने गरी आजको बैठक स्थगित गरे ।