Logo

बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि राप्रपाद्वारा युवा नेता कल्याण विक्रम आचार्य सिफारिस



आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि युवा तथा बौद्धिक व्यक्तित्व कल्याण विक्रम आचार्यको नाम सिफारिस गरेको छ। पार्टीले आचार्यको राजनीतिक सक्रियता र सामाजिक योगदानको कदर गर्दै उनलाई उम्मेदवारका रूपमा अघि सारेको हो। उच्च शैक्षिक योग्यता भएका आचार्यले व्यवस्थापनमा स्नातकोत्तर (MBM) का साथै B.B.A र कानुनमा स्नातक (LL.B) तहको शिक्षा हासिल गरेका छन्। हाल राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजकको जिम्मेवारीमा समेत सक्रिय रहेका उनी राजनीतिसँगै साहित्यमा पनि उत्तिकै रुचि राख्छन्। उनी उपन्यास ‘युवा उद्यमी’ का लेखक (उपन्यासकार) समेत हुन्। राजनीतिमा पूर्ण रूपमा होमिनुपूर्व लामो समय सञ्चारकर्मीका रूपमा समाजका विविध मुद्दाहरूलाई उजागर गरेका आचार्यले सञ्चार क्षेत्रको अनुभव र आफ्नो बौद्धिक क्षमतालाई अब राजनीतिक माध्यमबाट जनताको सेवामा लगाउने अठोट व्यक्त गरेका छन्। उनले आफ्नो सिफारिसलाई व्यक्तिगत उपलब्धि भन्दा पनि पार्टीले युवा र शिक्षित नेतृत्वप्रति देखाएको भरोसाका रूपमा लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध आचार्यले बागलुङका आम नागरिकको आवाजलाई राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने र क्षेत्रको समग्र विकासमा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। उनको सिफारिससँगै बागलुङ–१ का पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा नयाँ उत्साह थपिएको छ।

प्रतिक्रिया दिनुहोस्