काठमाडौँ, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।
राप्रपा बाहिरिएपनि अहिलेसम्म एमाले भने सरकारबाट बाहिरिएको छैन ।







