Logo

बाजुराको बुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित



बाजुरा, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् ।कांग्रेसकी रिता शाहीले ३७५५ मत मात्र पाइन् । निर्वाचन आयोगका अनुसार बुढीगंगामा नौ हजार १२८ मत खसेको थियाे ।

अन्तिम मतगणनाअनुसार नगरपालिकाको १० वटा वडामध्ये ७ वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले र ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि आयोगले पुनः मतदानको निर्णय गरेको थियो । साे चुनावकाे मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए । त्यसपछि गत बिहीबार कडा सुरक्षाकाबीच पुनः मतदान भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्