
काठमाडौँ, १७ जेठ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो । विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो ।
सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ । विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ । एक जना अझै हराइरहेको प्रहरीले बताएको छ । चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ ।
दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।







