Logo

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १७० पुग्यो



काठमाडौँ, १४ असोज । अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइतबार अबेरसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी धादिङमा ३८ जनाले ज्यान गुमाएका छन् । काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १० र मकवानपुरमा ७ जनाको मृत्यु भएको छ ।

भक्तपुर, पाँचथर, दोलखा र सोलुखुम्बुमा ५र५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २र२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १र१ जनाको मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत प्रमुख सेनानी ९कर्णेल० मिलन केसीले पनि पहिरोमा परी ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४, बिमरेनी जंगल नजिकै सिन्धु बिच रिसोर्टमा रहेका बेला केसीलाई शनिबार पहिरोले पुरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । झ्याप्ले खोलामा पुरिएका सवारीसाधनमध्ये बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट शनिबार १४ जनाको शव निकालिएको थियो ।

चितवनबाट काठमाडौंका लागि छुटेको बा३ख १३१५ नम्बरको माइक्रोबसमा सवार १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसमा सवार ५ जनाको शव आइतबार निकालिएको छ । ती शव नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निकालेको हो ।

घटनास्थल पुगेका सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुटवलबाट आएको माइक्रोबसमा ८ पुरुष, ५ महिला र एक बच्चा, चितवनबाट आएको माइक्रोबसमा १२ पुरुष र ४ महिला तथा गोरखाबाट आएको बसमा रहेका ५ पुरुषको शव निकालिएको हो । त्यसमा ठाउँमा अरू केही बस पुरिएको भए पनि मानवीय क्षति नभएको डीएसपी थापाले बताउनुभयो ।

बेपत्ताहरूको शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको कुल संख्या अझै बढी हुन सक्ने खोज तथा उद्धारमा खटिएका एक प्रहरी अधिकारीले बताउनुभयो  । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बेपत्ता भएकाहरूको खोजतलासमा सुरक्षाकर्मी खटिएका छन् । आवश्यक उपकरणको अभावले खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरी अधिकारीहरूको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले विपद्मा फसेका ३ हजार ६ सय ९५ जनाको सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका मध्ये घाइते १ सय ११ जनाको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले बताउनुभयो ।

बाढीपहिरो र डुबानरकटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन् । गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन् । बाढीपहिरोमा २ सय ७२ वटा पशुरचौपाया मरेका छन् ।

काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ । २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ । विपद्बाट भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ, कान्तिपुरमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस्