काठमाडौं, २४ असार । छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
यस्तै भन्सारमा राखिएका गाडी पनि बगाएको र तर कति बगायो भन्ने तथ्याँक आउन आउन बाँकी रहेको उहाँको भनाइ छ । अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने उहाँले बताउनुभयो ।
नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै त्रिशूली नदीमा पनि बाढीको जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ ।