Logo

बाढीले पुल बगाउँदा पढाइ ठप्प



ओखलढुङ्गा, १७ असोज । गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१ बलखु र सिन्धुलीको फिक्कल गाउँपालिका –६ जोड्ने सुनकोशी नदीको पुल बाढीले बगाएको छ ।

पुल बगाउँदा जेरोङघाट र ढेबुवा माझीगाउँका विद्यार्थी परीक्षा दिनबाट समेत बञ्चित भएका छन् । सुनकोशी गाउँपालिका –१ ढेबुवामाझि गाउँका १४ जना बालबालिका यही झोलुङ्गे पुल तरेर फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाँडा माध्यमिक विद्यालय र तीखण्डेको आधारभूत विद्यालय राईगाउँ जाने गरेका थिए । बाढीले पुल बगाएपछि बालबालिकाको विद्यालय आउजाउ गर्ने बाटो बन्द भएको ढेबुवाका रहबहादुर माझीले बताउनुभयो ।

“विद्यार्थीको परीक्षा चलिरहेको थियो, परीक्षा पनि छुट्यो, पढाइ ठप्प भयो” माझीले भन्नुभयो । यसका साथै सुनकोशी गाउँपालिका –४ जेरोङघाटका नौ जना विद्यार्थीको परीक्षा छुट्नुका साथै विद्यालय जाने बाटो बन्द भएको राजिव राईले बताउनुभयो । वारी जेरोङघाट र ढेबुवाघाटबाट पारी फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाँडा र तीनखण्डेको विद्यालयमा अध्ययन गर्न जाने सबै विद्यार्थीको पढाइ अवरुद्ध भएको राईको भनाइ छ ।

करिब तीन घण्टा टाढामा रहेको मानेभञ्ज्याङ गाउँपालिका –७ ओखलढुङ्गाको हर्कपुर माध्यमिक विद्यालय जान बाहेक विकल्प नभएको स्थानीयको भनाइ छ । असोज १२ गतेको बाढीले पुललाई सुनकोशी नदीमा आएको बाढीले बगाएको छ । साँधी, गैरीजेरोङ, डिम्फुल, चिउँरीबोट, जेरोङघाट र ढेबुवाका स्थानीयलाई दैनिक उपभोग्य सामान किन्न उदयुरको घुर्मीबजार आउजाउ गर्न सहज मार्गको अन्त्य भएको छ ।

पुल निर्माणको यहाँका स्थानीयले अनुरोध गरेका छन् । पुलको पुनः निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डा। नारायण ढकालले बताउनुभयो ।

यसैविच ओखलढुङ्गाको सनुकोशी गाउँपालिका –१ थुल्मेघाट साथै वडा २ को पञ्चकन्या र गोठचउरमा रहेको झोलुङ्गे पुललाई बाढीले क्षति गरेको छ । मानिसले जोखिम मोलेर यही पुलबाट आउजाउ गर्ने गरेका छन् । जिर्ण पुलको दशैं अगाडि मर्मत गर्न पहल भइरहेको सुनकोशी गाउँपालिका –१ का वडा अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्