Logo

बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएनन्



झापा, ५ असार । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीन-तीन जना बेपत्ता भएका छन् ।

उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ । ताप्लेजुङ र पाँचथरमा तीन-तीन जना तथा भोजपुर र सङ्खुवासभामा एक-एक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । यस्तै छ जना घाइते भएका छन् ।

बाढी पहिरोले सडक ध्वस्त भएकाले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भइरहेको छ । पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर-तेह्रथुम सडक खण्ड पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्