Logo

बाबुछोरा नै चुनावी मैदानमा



भैरहवा, २४ असोज । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ ।

यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले जानकारी दिए । यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा उनीले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै नेकपा (एमाले)को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले पनि यसै क्षेत्रबाट सोही पदको लागि उम्मेदवारी दिएका छन् । एमाले, राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन बनाइ बोहराले उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभा सदस्य पदकै लागि हाम्रो नेपाली पार्टीबाट प्रख्यात बञ्जाडे, जनमत पार्टीबाट प्रमोदकुमार राउत, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिब अलि मुसलमान, गान्धावादी पार्टी नेपालबाट लालबहादुर रानाले उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीतबहादुर गुप्ता तेली, नागरिक उन्मुक्ति पार्टीबाट तुलसीप्रसाद थारु र मङ्गोल नेशनल अर्गानाइजेशनबाट तेजकुमारी आलेले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपा नेपालबाट सरस्वती धोबी नेपाल र नेपाल मजदूर किसान पार्टीबाट सरु विकले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यकै लागि निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा ईमदाद हुसेन खाँन, ईशरान अली फकिर, केशव विक्रम खड्का, गुडिया पथरकट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै स्वतन्त्रबाट नै घनश्याम भट्टराई, जीवकान्त काफ्ले, देवराज न्यौपाने, नबाब मुसलमान, नरेशबहादुर क्षेत्री, नारायणप्रसाद शर्मा, रमेश गैरे, राजीव शाही र शिव मल्लको उम्मेदवारी परेको कोइरालाले बताए । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ १२ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसमध्ये चार जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रदेशसभा सदस्य ‘ख’ बाट पनि १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसमध्ये चारजना स्वतन्त्र उम्मेदवार भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्