बारा, २७ मङ्सिर । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक-कर्मचारी र प्रहरीबीच झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ ।
नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाको विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब-भत्ता पाउन नसकेका हुन् ।
आज बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकबाट हातपातको प्रयास भएपछि विवाद उग्र बनेको हो । प्रहरीले अवस्था सामान्य बनाउन टियर ग्यास र हवाई फायर गरेको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।
मेयर साहले एक हप्ताअघि मात्रै पचरौता नगरपालिकाबाट सरुवा लिएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुगेका थिए ।