Logo

बालकुमारी घटना छानबिन गर्न जिम्मेवार अधिकारीलाई हटाइएको छ: गृह मन्त्रालय



काठमाडौँ, १४ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटना छानबिनलाई वस्तुनिष्ठ बनाउनका लागि सुरक्षा, प्रशासन, ईपीएस र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाउने र निलम्बनको निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बालकुमारीमा रहेको ईपीएस शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा मन्त्री ज्वाला चढेको गाडीमा आगजनी गरिएको थियो । उक्त आगजनीपछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको घटनाबारे छानबिन गर्नका लागि गृह मन्त्रालयले समिति गठन गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा छानबिनका क्रममा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाइएको उल्लेख छ ।

‘छानबिन समितिले काम गरिरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो बमोजिम कार्यान्वयन गरिने भएकोले छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ । साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।’

बालकुमारी घटनाको विषयमा गृह मन्त्रालय संवेदनशील रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्