Logo

बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार



भक्तपुर, ९ पुस । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका रुपेशलाई प्रहरीले आज महाराजगन्जबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका रुपेशसँग बयान लिने कार्य जारी रहेको छ । उनलाई भक्तपुर प्रहरी परिसर पठाएको उहाँले बताउनुभयो । “प्रारम्भिक अनुसन्धान र बयान क्रममा बुबा र भाइको हत्या कुलप्रसादकै जेठा छोरा रुपेशले नै गरेको पाइएको छ । बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको उनले स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो ।

आफू सरकारी जागिरे भएको हेर्ने चाहना राखेका बुबा आफ्नो असफलताले डिप्रेसनमा पुगेका र एकपटक आत्महत्या समेत गर्ने कोशिस गरेका उनले बताएका हुन् ।

‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने कुलतमा लागेजस्तो थ्यो। आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ। कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ। आफ्ना कारण पनि परिवारलाई तनाव भयोजस्तो लाग्यो। मैले पनि केही गर्न सकिनँ। यो भन्दा त बाबुलाई पनि मुक्ति दिँदा ठीक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रहरीको प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ। कुनै झगडा परेर हत्या गरेको होइन।’

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार बुबा र भाइको शनिबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर रुपेश स्कुटरमा फरार भएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर छोराहरू बस्दै आएको स्थान बालकोट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्