Logo

बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ: राष्ट्रपति



काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताएका हुन् ।

उनले पौडी र घोडचडीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताए । “पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पु¥याएको छ”, राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।” उनले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताएका हुन् ।

बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात ‘शोक न सुर्ता भोक न भकारी’को रहने गरेको स्मरण उनले गरेका थिए । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भने ।

उनले अहिलेको बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भातपकाइ खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताए ।

“हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कुर्ची बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरेँ, घरनजिकैको वरपिपलको चौतारीका ढुङ्गाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धुलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो”, उनले बाल्यकाल सम्झँदै भने ।

राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताए । तर पनि अहिलेको आधुनिक समयमा बालबालिकाका लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उहाँले उनीहरूको सर्वाङ्गीण विकासका लागि सरकारले अझै धेरै काम गर्न आवश्यक छ भने ।

उनले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्