काठमाण्डौ, २ फागुन । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।
नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा छानबिन शुरू गरिएको आयोगले जनाएको छ ।
सत्ता र शक्तिको आडमा उनीविरुद्ध मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय काठमाण्डौले गरेको निर्णय सार्वजनिक भएसँगै अनुसन्धान थालिएको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
आयोगले यो घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचारसमेत गरेको छ ।