Logo

बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा



काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको जिकिर गरेकी हुन् । उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् ।

विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने उनको भनाइ छ । यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको औंल्याइन् ।

‘सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक छ,’ उनी भन्छिन्, ‘धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ ।’

उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।

‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौं । विवाहको लागि लाइसेन्स लिने प्रक्रिया राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त?’ उनी भन्छिन्, ‘विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्