काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।
गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उनले भनिन् । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
गोकर्णेश्वर नगरपालिका–८ का वडाध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले रेष्टुरेन्ट, ह्यान्डिक्राफ्ट, यातायातलगायत क्षेत्रमा बालश्रम अत्यधिक रहेको भन्दै यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का कार्यक्रम सहायक अरविन्द लेखकले स्थानीय तहलाई बालश्रम मुक्त श्रेत्र निर्माण गर्न आइएलओले काम गर्दै आएको बताए् । नेपाल ह्यान्डिक्राफ्ट तथा सिलाइ बुनाइ सम्बध श्रमिक सङ्घका अध्यक्ष तेजप्रसाद रिजालले ह्यान्डिक्राफ्टको क्षेत्रमा अत्यधिक बालश्रम रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।