Logo

बालाजु क्षेत्रमा मजदुर र प्रहरीबीचको झडपमा प्रहरी भ्यानमा आगजनी



काठमाडौँ, १ फागुन । यातायात मजदुर र प्रहरीबीच आज बालाजु क्षेत्र दिनभर तनावग्रस्त भएको छ । मजदुरको एक समूहले बालाजुको माछापोखरी क्षेत्रमा प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।

झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा. १ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

माछापोखरी चोकमा यातायात मजदुरले दुवै गाडीमा आगजनी गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, पंकज मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरूलाई आक्रमण गरेको ३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।

मजदुर संगठनले भोलिदेखि उपत्यकामा सबै सवारी साधन बन्द गर्ने घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने भन्दै आज विज्ञप्ति सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्