काठमाडौँ, २१ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ । यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए ।
प्रहरीका सवारीसाधन तथा ट्राफिक पोस्ट तोडफोड गर्ने ३५ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा, ल्होत्से मल तोडफोड तथा लुटपाटमा संलग्न १७ जनाविरुद्ध डाँका तथा लुटपाट कसुरमा र अन्य १० जनाविरुद्ध अभद्र व्यवहार कसुरमा ६२ जनामाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले बालाजु तथा बसपार्क तोडफोड, लुटपाट तथा आगजनी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए । यो समाचार गोेरखापत्र दैनिकमा छ ।