इन्डोनेसिया, २८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएको छ ।
दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डोनेसियाको बालीमा सोमवार बाइडेन र सीबीच भेट भएको हो ।
भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जोड दिएका छन् । उनले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताएका छन् ।
यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् । उनले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानिसले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका छन् ।
मङ्गलवार सुरु हुने जी-२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेसियामा छन् ।







