Logo

बाली उपचार शिविरबाट किसानलाई राहत



बुद्धशान्ति, ११ असोज । बुद्धशान्ति गाँउपालिका वडा नम्बर ५ मा बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ ।

अन्नवाली, तरकारी तथा फलफूलमा किराको आक्रमणले नष्ट गर्न थालेससँगै वडाले कृषि ज्ञान केन्द्र सँगको समन्वयमा बालीमा उपचार शिविर सञ्चालन गरेको हो ।

कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको वडाध्यक्ष डेगेन्द्र कार्कीले बताए ।

अन्नवाली तथा तरकारी, फलफूलमा विभिन्न किसिमका रोगले उत्पादनमा कमी आएको छ । अहिले धानबालीमा लगायत अन्य बालीमा फल फलेपनि पहेँलो भएर झर्ने, पात तथा हाँगा सुक्ने, पात कुहिने, जरा कुहिने तथा पात किराले खाने जस्ता समस्या देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्टको भनाइ छ ।

कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । तर, मानव स्वास्थ्यका लागि रसायनिक विषादीको प्रयोग भन्दा एकीकृत तथा जैविक विधिका माध्यमबाट किटाणुको व्यवस्थापन गर्न सकिने सुझाव उनले दिए ।

उक्त कार्यक्रममा बागबानी बिकास अधिकृत अन्कित भट्टराईले बाली शिविरबाट अन्नबाली, तरकारी तथा फलफुलमा लागेको रोगको पहिचान गर्न सहज हुने बताए । उनले कृषिमा उत्पादन वृद्धि गरी व्यवसायिक बन्नका लागि कृषि सम्वन्धी ज्ञानको आवश्यक रहने बताए ।

उनले अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बताए ।

वडाध्यक्ष कार्कीले शिविरशार्फत कृषि उत्पादन वृद्धि हुने र किसानले बढीभन्दा बढी लाभ लिन सक्ने बताए ।

यस वडाका विभिन्न क्षेत्रमा पहिलो चरणमा बाली शिविरबाट झण्डै ५७ जना किसान लाभान्वित भएको कृषि शाखा प्रमुख बुद्धशान्तिका प्रमुख अर्जुन कुमार पौडेलले बताए ।

आज सञ्चालन गरिएको प्लान्ट क्लिनिक शिबिरमा किसानले ल्याएका रोग तथा किरा लागेका बालीनालिको ६७ वटा नमूना परीक्षण गरिनुका साथै औषधि वितरण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्