Logo

बालुवाटारमा कार्की–ओली भेट, निर्वाचनबारे आश्वासन र विश्वासको संवाद



काठमाडौं, २४ पुष । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। लामो समय संवादविहीन रहेका दुई शीर्ष नेताबीच भएको यस भेटलाई फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखिएको महत्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।

प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहान ११ बजे बालुवाटार पुगेका ओली र प्रधानमन्त्री कार्कीबीच प्रारम्भिक औपचारिक भेटपछि एक्ला–एक्लै छलफल भएको थियो। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बिहान ११ बजेदेखि साढे २ बजेसम्म दुई नेताबीच गहन संवाद भएको हो।

वार्ताका क्रममा अध्यक्ष ओलीले एमालेले निर्वाचन प्रक्रियामा कुनै अवरोध नगर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनले पार्टी निर्वाचनमा सहभागी भएर प्रतिस्पर्धात्मक र लोकतान्त्रिक अभ्यासमा जाने विश्वास सरकारलाई दिलाएको रावलले बताए।

प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको सम्पूर्ण तयारी र सुरक्षा व्यवस्थामा गम्भीर रहेको उल्लेख गर्दै सबै दललाई ढुक्क भएर चुनावी मैदानमा उत्रन आग्रह गरेकी थिइन्। एमालेले निर्वाचनमा सहभागी हुने निर्णय गरेकोप्रति उनले सन्तोष व्यक्त गर्नुका साथै पार्टीको ११औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा ओलीलाई धन्यवाद दिएकी छन्।

यस भेटलाई पछिल्ला दिनमा देखिएको निर्वाचनप्रतिको अन्योल हटाउने दिशामा सकारात्मक संकेतका रूपमा लिइएको छ। जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएका ओली र त्यसको केही दिनपछि प्रधानमन्त्री बनेकी कार्कीबीच लामो समय प्रत्यक्ष संवाद नभएको अवस्थामा भएको यो भेट राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री बनेपछि कार्कीले विभिन्न दलसँग संवाद थालेकी भए पनि एमाले अध्यक्ष ओलीसँग एक्ला–एक्लै बसेर गरिएको यो पहिलो विस्तृत छलफल हो।

प्रतिक्रिया दिनुहोस्