काठमाडौं, १३ फागुन । गत भदौमा युवाको नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको छ। त्यसक्रममा काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत युवालाई नेतृत्वका लागि तयार रहन आह्वान गरेका थिए।
पाँच महिनापछि फागुन २१ को चुनाव नजिकिँदै गर्दा बालेन भावी प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि देखिएको राजनीतिक विश्लेषकहरूको आकलन छ। २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको मेयर जितेर औपचारिक राजनीतिक यात्रा सुरु गरेका उनी छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली पात्र बनेका छन्।
संवैधानिक कानुनविद् तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक विपिन अधिकारीका अनुसार बालेनको लोकप्रियता यति उच्च छ कि राजधानीमा चल्ने बसहरूमा समेत ‘बालेनको सहर’ लेखिएका स्टिकर देखिन थालेका छन्।
र्याप संगीतबाट उदाएका बालेनले संस्थापनविरुद्धको आवाजलाई राजनीतिक अभियानमा रूपान्तरण गरेका छन्। उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका उम्मेदवार बनेका छन्। दलले आफ्नो घोषणापत्रमा दुई छिमेकी राष्ट्रबीच सन्तुलित परराष्ट्र नीति अपनाउने प्रतिबद्धता जनाएको छ।
नेपालको राजनीतिमा वर्षौंदेखि प्रभाव जमाएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस जस्ता दलहरूको वर्चस्वलाई चुनौती दिँदै बालेन नयाँ पुस्ताको प्रतिनिधिका रूपमा उभिएका छन्।
मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, सहरी पूर्वाधार सुधार र सेवा प्रवाहमा केही सुधार ल्याएको समर्थकहरूको दाबी छ। तर, सुकुम्बासी हटाउने क्रममा बल प्रयोग गरेको विषयमा मानवअधिकार संस्थाहरूबाट आलोचना पनि खेपेका थिए।
३५ लाखभन्दा बढी सामाजिक सञ्जाल फलोअर्स भएका बालेन मूलधार सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालमार्फत युवासँग प्रत्यक्ष संवाद गर्न रुचाउँछन्। विश्लेषक पुरञ्जन आचार्यका अनुसार लोकप्रियता पर्याप्त भए पनि प्रधानमन्त्रीका रूपमा सफल हुन सक्षम टिम र दक्ष जनशक्तिको आवश्यकता पर्छ।
सिभिल इन्जिनियरिङमा अध्ययन गरेका बालेनले दक्षिण भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। अमेरिकी र्यापर टुपाक साकुर र फिफ्टी सेन्टबाट प्रभावित उनी ‘बलिदान’ जस्ता गीतमार्फत युवामाझ चर्चित बनेका थिए।
रास्वपाले पाँच वर्षभित्र १ करोड २० लाख रोजगारी सिर्जना गर्ने, प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने तथा मुलुकको अर्थतन्त्र दोब्बर बनाउने लक्ष्य अघि सारेको छ। अब चुनावी परिणामले बालेनको लोकप्रियता सत्तासम्म पुग्छ कि पुग्दैन भन्ने टुंगो लगाउनेछ।







