खोटाङ, २ जेष्ठ । काठमाडौँ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।
बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरुलाई पक्राउ गरिएको डीएसपी लम्सालले बताए ।