Logo

बाल अधिकार सुनिश्चितता गर्न सम्बद्ध पक्षको ध्यान जान जरुरी: राष्ट्रपति



काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको बताएकी छिन् ।

राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताइन् ।

उनले राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट वञ्चित हुनु परेको अवस्था कायमै रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले बाल अधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बाल अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट समेत गरिन् ।

“यस अवसरमा म बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बाल अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज‚ निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।” राष्ट्रपति भण्डारीले सन्देशमार्फत भनेकी छिन् ।

आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले भन्दै उनले उनीहरूको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान प्रदान गर्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।

संयुक्त राष्ट्र सङ्घीय बाल अधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाइँदै आइएको छ । यस वर्ष पनि “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल विषयका साथ राष्ट्रिय बाल दिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्