काठमाडौँ, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।
शुक्रवार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीमा फर्किन आह्वान गरेका हुन् । गल्ती स्वीकार गरेर आत्मालोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरेका छन् ।
महासचिव विप्लवले भने, ‘बास्तोला र वलीजी गल्ती स्वीकारेर पार्टीमा आउनुस् । बाहिर बबन्डर मच्चाउन छोड्नुस् । उहाँहरूले चितवनबाट प्रतिवेदन निकाल्नुभएछ । के छ त्यो प्रतिवेदनमा? एउटा केही पनि फरक छैन । समाजवादको लक्ष्य त हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ । हामीले भन्दै आएको प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह, वैज्ञानिक समाजवाद त हो नि । नेपालमा त सय वटाभन्दा बढी पार्टी छन्, एउटा थप्ने कुरा ठूलो होइन । तर नेपाली जनतालाई नेतृत्व गर्ने, नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जाने कुरामा हामीले ध्यान दिनुपर्छ ।’