Logo

बाह्रदशीले कक्षा ११ र १२ नि:शुल्क पढाउने



झापा, २१ जेठ । बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई नि:शुल्क पढाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए ।

बाह्रदशीमा १६ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये ३ वटा विद्यालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नं. ३ को पशुपति मावि, वडा नं.५ को फुलवारी मावि र वडा नं.७ को गौरीशंकर माविमा ११-१२ पढाई हुने गरेको छ ।

यस्तै, कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति, पञ्चानन राजवंशीको संयोजकत्वमा सामाजिक विकास समिति, लक्ष्मी निरौला अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार समिति, महताव आलमको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति र तारादेवी थपलियाको संयोजकत्वमा क्षमता विकास समिति गठन गरिएको प्रशासन शाखा प्रमुख तेजु रेग्मीले जानकारी दिए ।

सोही बैठकमा यसअघि पाँच वर्ष जनताको सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनप्रतिनिधिहरुलाई धन्यवादसहित सम्मान गरिएको छ । यस्तै, निर्वाचन सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने निर्वाचन अधिकृत पुस्कलराज प्रसाईलाई समेत सम्मान गरिएको रेग्मीले जानकारी दिएका छन् ।

यस्तै सोही अवसरमा कार्यपालिकामा मनोनित ६ जनालाई सपथ ग्रण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्