मेचीनगर, ३ पुस । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले अघिल्लो आर्थिक वर्षदेखि किसानहरुका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल, बिऊ बिजन बिक्री वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष दशरथ खडियाले जानकारी दिए ।
अध्यक्ष खडियाले संस्थाले चाँडै नै कृषि क्षेत्रमा समेत लगानी गर्ने बताए । संस्थाले यही आर्थिक वर्षदेखि सदस्यहरुको लागि मोबाइल बैंकिङ सेवा समेत शुरु गरेको संस्थाका व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।
उक्त अवसरमा उत्कृष्ट बचतकर्तातर्फ सुनिता उराँव र नितेश खडिया, असल ऋणीतर्फ सखीलाल धिमाल र विष्णुमाया कट्वाल तथा उत्कृष्ट कर्मचारीको रुपमा किशोर उपरकोटीलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका श्रृजनाचोक सेवा केन्द्र प्रमुख किशोर उपरकोटीले गरेका थिए ।






