काठमाडौँ, ३१ असार । सरकारले बाढी-पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत उपलब्ध गराउने बारे यस्तो निर्णय गरेको हो।
विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।
बैठकले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ।
कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो।
बैठकले मन्त्रिपरिषदका विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उहाले बताउनुभयो।
त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरूलाई दोश्रो र तेश्रो किस्ता उपलब्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो।
बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिएको छ भने एक महिनाभित्र केही फरक देखाउने गरी काम गर्न पनि मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो।