मकवानपुर, २४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताएका हुन् । उनले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गरेका थिए ।
बिपीले भन्नुभएको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट वञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अङ्गाल्न नसकेकोमा आफूलाई दु:ख लागेको बताए ।
देशको परराष्ट्रनीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले परराष्ट्र नीति बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले देशमा दण्डहिनता बढेको भन्दै राज्य उत्तरदायित्व र पारदर्शी हुन नसकेको आरोप लगाएका थिए ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सिङ्गो लोकतान्त्रिक व्यवस्थामाथि भएको भन्दै बिपीको आर्दश सिद्धान्त भुलेका कारण यस्तो अराजकता बढेको उनको धारणा छ ।







