Logo

बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु



झापा, ६ असार । झापाको बिरिङ खोलामा डुबेर एक ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

कन्काई–१ निवासी कुलबहादुर रसाईलीकी छोरी सोनिया रसाईली आज बिहानदेखि हराइरहेकी थिइन्। उनको खोजी गर्ने क्रममा दिउँसो करिब ३ बजे कन्काई–८ स्थित बिरिङ खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

बालिका हराएको जानकारी उनकी आमा अमृता रसाईलीले अस्थायी प्रहरी पोस्ट दुर्गापुरलाई मौखिक रूपमा गराएकी थिइन्। त्यसपछि प्रहरी सहायक निरीक्षक दिर्घबहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्दा बालिकाको शव फेला पारेको हो।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा पुगेको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्