Logo

बिर्तामोडका कार्यपालिका सदस्यले गरे सपथ ग्रहण



बिर्तामोड, १८ जेठ । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् ।

नगरपालिकाको कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथ ग्रहण गराइएकी हुन् ।

कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा यमुनादेवी आचार्य, तिला गौतम, निर्मलादेवि सुनार, लक्ष्मि खतिवडा, संगीता सिवा, सिता ढुङ्गाना वि.क, शर्मिला राजवंशी र जगतवन्धु राजवंशी रहेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सपथ ग्रहण पछि कार्यपालिकाको बैठक समेत बसेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९/८०को बजेट, नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा छलफल भयो । बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जेठ १९ र २० गते पञ्जिकरण सहितको दुई दिने अभिमुखिकरण तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले वडा नम्बर ३,४,५ र ६ मा पर्ने हर्कलाल सडक मार्ग सडक, वडा नम्बर ५ को कन्काई मार्ग सडक, वडा नम्बर ९ मा पर्ने शहिदचन्द्र मार्ग सडक, वडा नम्बर ४ मा पर्ने विद्युत प्राधिकरण दक्षिण नेकपा एमालेको पार्टी कार्यालय हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक, वडा नम्बर ७ को गरामनि बजार उत्तर भुसावाडी जोड्ने सडक, वडा नम्बर १ को नचानु टोल हुँदै बैँसावाडी ठाकुर मन्दिर जाने सडक र घाग्रा, देउनिया, अदुवा खोला कटान नियन्त्रण योजनाहरुका लागि प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नगरपालिका क्षेत्रभित्रका अति आवश्यकिय स्थानमा सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक भएका कारण ग्राभेलको व्यवस्था गर्न नगरप्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्