Logo

बिर्तामोडका दुई युवाको सक्रियतामा युवालाई उद्यमी बनाउने अभियान



बिर्तामोड, २३ साउन । बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुने भएको छ ।

युवाहरु सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुन लागेको हो ।

नेपालमै युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने भएको छ । जसलाई उनीहरुले बिजनेस ग्रुप नामाकरण गरेका छन् ।

सबैभन्दा पहिला विभिन्न विषयमा विज्ञ १० जना युवाहरुलाई समेटेर व्यवसायिक अवधारणा आदान प्रदान गरिने कार्यक्रम रहेको अभियन्ता उप्रेतीले जानकारी दिए । यहाँ उपलब्ध अवधारणा मध्ये उत्कृष्ठ अवधारणामा लगानी गरेर व्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यसपछि युवा उद्यमी क्लब निर्माण गर्ने योजना समुहको रहने उनले बताए । दोस्रो बर्षमा १८ देखि ३० बर्षका युवालाई संगठित गरेर उनीहरुको व्यवसायिक अवधारणा मुल्यांकन गरेर त्यसमा लगानी गरिने गिरीले बताएका हुन् ।

युवा उद्यमी समुहले प्रत्यक्ष निगरानी गर्ने गरी १६ बर्षमुनीका बालक तथा युवाहरुलाई लक्षित गरी उनीहरुको पनि उद्यमी समुह निर्माण गर्ने बताइएको छ । यो समुह विद्यालयमा खोलिने गिरीले जानकारी दिए । विद्यालयमा उद्यम विकास सम्बन्धि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समुहको रहने उनले बताए ।

गिरीका अनुसार यो समुहको लक्ष्य भनेको विद्यालयस्तरदेखि नै युवाहरुमा व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसाय सम्बन्धि अनुसन्धान गर्न प्रेरित गर्नु रहेको उनीहरुको भनाई छ । शुरुमा यो समुह देशभर काम गर्ने भएपनि यसले भविष्यमा दायरा अझ फराकिलो बनाउँदै लाने लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्