Logo

बिर्तामोडका पूर्व नगर प्रमुख शिवाकोटीलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतको आदेश



झापा, २५ बैशाख । बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ ।

घरेलु कामका लागि राखिएकी बालिकामाथि करणी गरेको आरोपमा थुनामा रहेका बिर्तामोडका पूर्व नगर प्रमुख शिवाकोटीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले आज २० लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो ।

न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो । उच्चको सो आदेशपछि शिवाकोटी आइतवार थुनामुक्त हुने भएका छन् । आज कागजपत्र मिलाउन समय नपुगेको, भोलि कानुन दिवस र पर्सी शनिवारको विदा परेकाले आइतवार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आएका अग्रज कानुन व्यवसायी अशोक पोखरेलले बताउनुभयो ।

यसअघि गत पुष २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपनि शिवाकोटी ५ महिनादेखि बीएण्डसी अस्पतालमै छन् । त्यसअघि २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

जिल्ला अदालतले उनको स्वास्थ्य अबस्था ख्याल गर्न आदेश दिएपछि उनी एकदिन पनि कारागार गएनन् । जिल्ला अदालतको आदेशविरुद्ध शिवाकोटीले पुष अन्तिममा बाहिरै बसेर मुद्धा लड्न पाउनेगरी उच्चमा निवेदन दिएका थिए ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्