झापा, २० माघ । जवरजस्ती करणीको अभियोग लागेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले निर्दोष ठहर गरेको छ। न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले प्रमाण र दाबी नपुगेको ठहर गर्दै शिवाकोटीविरुद्धको मुद्दामा सफाइ दिएको हो।
नेपाल सरकार वादी रहेको मुद्दामा शिवाकोटीविरुद्ध २०८१ पुस १९ गते जबरजस्ती करणीसम्बन्धी कसुर दर्ता गरिएको थियो। यसअघि थुनछेक प्रयोजनका लागि अदालतले थुनामा पठाउने आदेश दिएकोमा, शिवाकोटीको अपिलपछि उच्च अदालत इलाम इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अन्तिम सुनुवाइपछि आज जिल्ला अदालतले सफाइको फैसला सुनाएको हो।
शिवाकोटीमाथि घरेलु कामदारका रूपमा राखिएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लगाइएको थियो। इलाका प्रहरी कार्यालय अनारमनीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय झापाले मुलुकी अपराध संहिताअन्तर्गत जबरजस्ती करणी र बालबालिका ऐनविपरीतको कसुरमा अभियोग दायर गरेको थियो।






