बिर्तामोड, १२ वैशाख । बिर्तामोडमा सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा सोमवारदेखि तालिम सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख संग्रौलाले तालिमले सहकारी तथा वित्तिय व्यवस्थापनको कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
लेखा चुस्त दुरुस्त राख्न तालिम फलदायी हुने उनले बताए । उपप्रमुख संग्रौलाले राज्यको नीति अनुसारनै सहकारी र वित्तिय संस्थाहरु दर्ता भएर सञ्चालनमा रहने भएकाले पारदर्शी ढंगले कारोवार गर्नु पर्नेमा जोड दिए ।
तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारीहरु मध्येबाट ३० जनालाई सहभागी गराइएको नगरको सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिए । नगरपालिकाले सहकारी तथा गरिबि व्यवस्थापन सूचना प्रणाली, कर्जा व्यवस्थापन, लेखा तथा संस्था व्यवस्थापन लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
सहकारी तथा सामाजिक विकास शाखाकी संयोजक यामुना आचार्यको अध्यक्षतामा आयोजित तालिम वैशाख १६ गतेसम्म सञ्चालन हुने भएको छ ।







