झापा, ३२ असार । बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ ।
साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरीएको हो ।
शनिबार सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमका विच कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरीएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८ का ६ जना, वडा नम्बर ९ का १५ जना र वडा नम्बर १० का ११ जना रहेका छन् ।
बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्ष देखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसंग विपन्न आवास,कृषि,पशुपंछि र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए ।
बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरीयाले सहारा नेपालसंगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरीएको जानकारी दिए ।
सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छवीलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितिय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषि प्राविधिक सुजित साह लगायतको उपस्थिति रहेको थियो ।