झापा, १८ माघ । झापाको बिर्तामोड–४ भद्रपुररोडमा एक बर्ष अघि सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलो पटक डीएम मधुमेह, थाइराइड र हर्मोन बिशेषज्ञ सेवा शुरु भएको छ ।
आरआर पोलिक्लिनिकमा भारतको पिजीआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, थाइराइड र हर्मोन रोगमा बिद्यावारिधि गरेर आएका बिशेषज्ञ डा. प्रसिद्ध ढकालको दैनिक सेवा शुरु गर्नुभएको हो ।
पोलिक्लिनिकमा डा. ढकालले गत माघ ६ गतेबाट सेवा दिन शुरु गरेको आज (शुक्रवार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोलिक्लिनिकले मधुमेह अर्थात सुगर, थाइराइड र हर्मोन सम्बन्धी जुनसुकै रोगको बिशेषज्ञद्धारा उपचार शुरु गरेको जनाएको छ ।
डीएम इन्डोक्रोनोलोजी तथा डाइबेटिज डाक्टरको आगमनसँगै अव इन्सुलिन लगाउने, सुगर नियन्त्रणमा नरहने, मधुमेह र गर्भावस्थाको मधुमेह भएका रोगीहरुले राम्रो उपचार पाउने पोलिक्लिनिकका अध्यक्ष महेन्द्रबहादुर राईले बताउनुभयो । उहाका अनुसार पोलिक्लिनिकमा यस बाहेक मधुमेहको अत्याधुनिक उपचारसँगै सीजीएमएस र इन्सुलिन पम्पको सेवा लिन भारत जानु पर्ने बाध्यताको पनि अन्त्य भएको छ । यस्तै रेडयोएक्टिभ आयोडिन थेरापी गर्न चाहने ब्यक्तिले पनि परामर्श लिन सकिनेछ ।
पत्रकार सम्मेलनमा डा. प्रसिद्ध ढकाल, मानसिक रोग बिशेषज्ञ डा. बविता शर्मा, छाला रोग बिशेषज्ञ डा. रोहित पञ्जीयारलगायतले आ-आफ्नो भनाई राखेका थिए भने अध्यक्ष राईले पोलिक्लिनिकमा उपलब्ध सेवा र उपकारणका बारेमा जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो।