Logo

बिर्तामोडको बेल्स मोडल स्कुलमा शैक्षिक प्रदर्शनी, २५० भन्दा बढी प्रयोगात्मक सामग्री प्रदर्शन



झापा, ९ पुष । बिर्तामोड नगरपालिका- ७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज (बुधबार) विद्यार्थीहरूद्वारा तयार पारिएका प्रयोगात्मक शैक्षिक सामग्रीहरूको भव्य प्रदर्शनी गरिएको छ। कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्धित विषयवस्तुमा आधारित रहेर तयार पारेका विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयका २५० भन्दा बढी सामग्री प्रदर्शनीमा राखिएको स्कूलले जानकारी गराएको छ।

स्कूलका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रदर्शनीको उद्घाटन गरेकी थिइन्। विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने सञ्चालन भाइस प्रिन्सिपल देवन ढुंगानाले गरेका थिए।

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, प्याप्सन झापाका अध्यक्ष छत्र कार्की, वडा नं. ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेल, वडा सदस्य लक्ष्मी खतिवडा, निशा फाउण्डेशनका संरक्षक विष्णु भेटवाललगायतको विशेष उपस्थिति रहेको थियो। उनीहरूले विद्यार्थीहरूद्वारा तयार पारिएका सामग्री अवलोकन गर्दै प्रशंसा व्यक्त गरेका थिए।

प्रिन्सिपल प्रसाईंका अनुसार यस्तो प्रयोगात्मक सिकाइ विधिले विद्यार्थीको व्यावहारिक ज्ञान र सिर्जनात्मक सोच विकासमा मद्दत पुर्‍याउने बताइएको छ। प्रदर्शनी अवलोकनका लागि नगरका अन्य १० विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

बेल्स मोडल स्कूलमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। विद्यालयमा करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने ७५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको भाइस प्रिन्सिपल ढुंगानाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्