झापा, १६ जेठ । झापा बिर्तामोड–४ कालिका नगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । बिष्टको हत्या भएको २० दिन पछाडी प्रहरीले आज बिर्तामोडका २१ बर्षीय गंगा राजवंशी र २७ बर्षीय महेश राजवंशीलाई पक्राउ गरेको जनाएको छ । उनीहरु मृतक बिष्टको छीमेकी हुन् । प्रहरी स्रोतका अनुसार उनिहरुले हत्या आरोप स्विकार गरि सकेका छन् ।
गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएको थियो ।
घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए । बैशाख २६ गत घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।






