Logo

बिर्तामोडको समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल




झापा, २१ जेठ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसँग शुक्रवार छलफल गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल गरेका हुन् ।

उक्त अवसरमा बोल्दै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टीकल फाइबर तारहरु चोरी हुने क्रम बढ्दै गएको बताए । उनले पछिल्लो एक महिना भित्रमा ७ स्थानबाट टेलिकमको तार चोरी हुँदा सेवा अवरुद्व हुनुकासाथै ठुलो नोक्सानी भएको जानकारी दिए ।

यस्तै नेपाल विद्युत प्राधिकरण अनारमनिका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरु सार्नु पर्ने र त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावका कारण समस्या भएको बताए । यस्तै उनले पोल स्थान्तरण गर्दा प्रक्रिया लामो तथा झञ्जटिलो हुने भएकोले त्यसको प्रकृयालाई छोटो बनाउनु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सिसि क्यामेरा जडान भएपनि गुणस्तरीय कुनै पनि नरहेको बताए । बिर्तामोडमा बाइक चोरीका घटना बढेको भन्दै उनले मुख्य सडकको प्रवेशद्वारमा समेत सिसि क्यामेर अनिवार्य जडान गर्नु पर्ने बताए ।

सम्भव भएसम्म नाइटभिजन क्यामेरा जडान गर्नु पर्नेमा उनको जोड थियो । सिमित जनशक्ति र सवारी साधन बावजूत पनि प्रहरीले काम गरीरहेको भन्दै उनले बिर्तामोडमा लागुऔषधका घटनामा समेत वृद्धि हुँदै गएकाले यसको न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नु पर्ने बताए । उनले सडकमा जडान गरीएका सिसि क्यामेरा कमसल भएकै कारण दुर्घटना गराउने व्याक्तिको पहिचान गर्न गाह्रो भएको बताए । प्रमुख जवेगुले सडक बत्ती मर्मत तथा जडान गर्नु पर्ने, दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने, फुटपाथ व्यवसायको व्यवस्थापन गर्नु पर्ने जस्ता समस्याका बारेमा अवगत गराएका थिए ।

यस्तै जिल्ला साकोस संघका सचिव यामकुमार चुँडालले सहकारीको माध्यमबाट किसानहरुलाई कम व्याजदरम ऋण उपलव्ध गराउनु पर्ने लगायत सहकारीको माध्यमबाट गर्न सकिने ठोस योजनाहरु बनाउनु पर्नेमा जोड दिए ।

उक्त छलफलमा कृषि सामाग्री कम्पनी साल्ड ट्रेडिङ, प्यावसन, एन प्यावसन, मेची यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख, प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सहभागिहरुलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईले समस्या समाधानका लागि नगरपालिका गम्भिर रहेको बताइन् । उनले सरोकारवालाहरुको उपयुक्त सल्लाह सुझावका आधारमा आगामि आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्