बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुुरु भएको छ ।
दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् । महोत्सवमा नेपालसहित भारत, बंंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् ।
आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने धारणा राखेका थिए ।
उनले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताइन् । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने बिश्वास ब्यक्त गरेकी थिइन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्वर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मीद्वय केशव भट्टराई तथा लीला अनमोलले गरेका थिए ।






