Logo

बिर्तामोडमा अमानवीय घटना: महिलालाई पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ



झापा, ३० जेठ । झापाको बिर्तामोड–२ चारपाने चोकमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो साँझ करिब ६:३० बजे बिर्तामोड–२ चारपाने बस्ने २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिइबीको कारण देखाउँदै बिजुलीको पोलमा हात बाँधेर चार जनाले कालोमोसो दलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेत रहेका छन्।

घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी दिएपछि प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट कालो मोबिलको बट्टा र १६ वटा पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ। पीडित सबिना राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्