झापा, १ पुस । बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गर्नुभयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा जग्गादाता तोमप्रसाद पाठक र तुलसा पाठकलाई नगर प्रमुख प्रसाईले खादा लगाएर सम्मान गर्नुभयो ।
वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षतामा आयोजित भवन उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, वडासदस्य कल्पना राजवंशी, एमाले नेता लक्ष्मी मोते, विष्णुमाया कोइराला लगायतको उपस्थिति रहेको थियो ।