झापा, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रालिमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ।
गएराति करिब ११ बजे उद्योगमा हेल्परको काम गर्दै आएका शिवसताक्षी नगरपालिका–४ निवासी २८ वर्षीय राजिव राजवंशीलाई करेन्ट लागेको थियो।
प्रहरीका अनुसार मिक्स्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टि हान्दा करेन्ट सर्ट भई उनी गम्भीर घाइते भएका थिए। घाइते राजवंशीलाई तत्काल बीएण्डसी अस्पताल, बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली पुगेको थियो। मृतकको शव सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।







