Logo

बिर्तामोडमा कार्यशाला गोष्ठी सुरु



झापा, १ असार । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना एमडिपी (MPDP) दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको गोष्ठीमा नगरप्रमुख, उपप्रमुख सहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अब कस्तो बनाउने भन्ने विषयमा छलफल गरि योजना तयार पार्ने बताइन् ।

पहिलो एक वर्षमा गर्न सक्ने कामलाई वर्गीकरण गरेर पाँच वर्षको खाका तयार पार्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, भौतिक पूर्वाधार, वैज्ञानिक कर प्रणाली, वन तथा वातावरणको संरक्षण, फोहोर व्यवस्थापन, श्रोत परिचालन लगायतका विषयमा आवधिक योजना निर्माण गरिने बताइन् ।

उक्त अवसरमा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, राप्रपा नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेल लगायतले आ-आफना धारणा राखेका थिए ।

नगरको विकासमा दीर्घकालिन योजना निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको गोष्ठी असार ३ गतेसम्म चल्ने छ । गोष्ठीमा आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वातावरण विकास तथा फाहोर व्यवस्थापन, संस्थागत विकास तथा सुशासनका विषयमा विभिन्न पाँच वटा समुह बनाएर छलफल गरिदैछ । पथ-वे नेपाल सुनसरीको सहयोगमा आयोजना गरीएको यस गोष्ठीलाई विज्ञ तारा निरौलाले सहजिकरण गरिरहेका छन् ।

नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमलाई प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्