Logo

बिर्तामोडमा कार-मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक गम्भीर



झापा, १६ फागुन । बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकलमा सवार कन्काई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईंको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्