झापा, १८ जेठ । किसान सूचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपन्छी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाले बिहीबारदेखि कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने नगगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए ।
बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तिन हजार दुई सय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत रहेको यस कार्यक्रममा सूचिकृत भएका कृषकलाई परिचय कार्ड वितरण गरीने र त्यसैका आधारमा सेवा सुविधा उपलव्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो ।
झापाका कमल र वुद्वशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । बिर्तामोडका २ वटा वडामा आगामी असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताइन् ।
कृषिज्ञान केन्द्र झापाका वागवानी विकास अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजिकरण गरेका थिए । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।